मेयर बालेनको आरोप : आन्दोलनकारीको अवरोधले दमकललाई ढिला

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनकारीको अवरोधले गर्दा सिंहदरबारमा दमकल सेवा तत्काल पुग्न नसकेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले सिंहदरबारमा आगलागी भएको लगत्तै दमकल जाने प्रयास गरे तर आन्दोलनकारीको अवरोधले गर्दा साँझ ८:१५ बजे मात्र पुग्न सकिएको बताए।
मेयर बालेनले भने, "नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि आन्दोलनकारीले काम गर्न नदिँदा आगो निभाउन सकिएन। भीड अलिक शान्त हुने बित्तिकै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो।"
उनले महानगरले न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी जम्मा ५ वटा दमकल सञ्चालनमा राखेको र ४४ जना सुरक्षाकर्मीको टिमले ३ सिफ्टमा काम गरेको जानकारी दिए। मेयरले भने, "२३ र २४ गते सिंहदरबारमात्र होइन, सिंगो देश जल्दै थियो। महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने हाम्रो दायित्व हो।"