रणवीर सिंहको धुरन्धर सुटिङ रोकियो, लेहमा सयभन्दा बढी टेक्निकल टिम अस्वस्थ

लद्दाखको लेहमा अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म धुरन्धर को छायांकन आकस्मिक रूपमा रोकिएको छ। कारण—फिल्म युनिटका करिब १२० जना सदस्य एकैपटक बिरामी परेपछि।
१७ अगस्टमा पठार साहिब क्षेत्रमा सुटिङ भइरहेका बेला युनिटका सयौं सदस्यलाई खानपिनपश्चात पेट दुख्ने, वाकवाकी, टाउको दुखाइजस्ता समस्या देखिए। तत्काल नजिकैको साजल नरब्बु मेमोरियल अस्पताल पुर्याइएका मध्ये १२० जनालाई भर्ना गर्नुपर्यो। करिब ६०० जना टिमका लागि तयार गरिएको खाना खाएपछि यो समस्या देखिएको अनुमान गरिएको छ। केही व्यक्तिलाई हृदयसम्बन्धी समस्या पनि भएको चर्चा छ।
खाद्य सामग्रीको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ भने अहिलेलाई फिल्मको छायांकन स्थगित गरिएको छ।
धुरन्धर मा रणवीर सिंहसँगै संजय दत्त, अक्षय खन्ना, आर. माधवन र अर्जुन रामपाल मुख्य भूमिकामा छन्। यसलाई उरी: द सर्जिकल स्ट्राइक निर्देशक आदित्य धरले निर्देशन गरिरहेका छन्। डिसेम्बर ५, २०२५ मा रिलिज गर्ने तयारीमा रहेको यो प्रोजेक्टलाई रणवीर–आदित्यको पहिलो सहकार्यका रूपमा हेरिएको छ।